कोभिड–१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष-प्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स हुँदै छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत फागुन ३० गते गर्नुभएको ट्विटको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरु कन्फरेन्समा सहभागी हुनेछन् ।
सोका लागि मिर्गाैला प्रत्यारोपणपछि आज पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जाने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उक्त कन्फरेन्स साँझ सवा ५ बजे हुने जनाइएको छ । स्वास्थ्य फलोअप मिर्गौला प्रत्यारोपण गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्यलाभ गरी गत फागुन ३० गते निवास फर्कनुभएका प्रधानमन्त्री ओलीले आज सो अस्पतालमा पुगी स्वास्थ्यको फलोअप गराउनुभएको छ । सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गराई निवास फर्कनुभएको छ ।
प्रधानमन्त्री ओली गत फागुन १९ गते मिर्गौला प्रत्यारोपण लागि सो अस्पतालमा भर्ना भई फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहाँलाई मिर्गाैला दान दिने भाञ्जी समीक्षा सङ्ग्रौला पनि स्वास्थ्यलाभ गरी गत बुधबार घर फर्किसक्नुभएको छ ।
Discussion about this post